काठमाडौँ—
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरूलाई विद्यालयको अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदाको अवधिमा पनि पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वि.सं. २०८१ चैत महिनामा शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण विद्यार्थी भर्ना र पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै यस्तो अनुरोध गरिएको जनाएको छ।
मन्त्रालयले नेपाल शिक्षक महासङ्घको प्रतिबद्धताका आधारमा आवश्यक व्यवस्था मिलाउन सबै सामुदायिक विद्यालयलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पेसागत आन्दोलनका कारण शिक्षक तथा कर्मचारीको विद्यालयमा अनुपस्थितिजस्ता विषयको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्न र विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन यो अनुरोध गरिएको हो।”

यसैगरी, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत जिम्मेवारी निर्वाह गरिरहेको सन्दर्भमा मन्त्रालयले सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन विशेष जोड , सहकार्य र समन्वयका लागि स्थानीय तह, विद्यालय र सरोकारवालाहरूलाई विशेष अनुरोध गरेको छ। मन्त्रालयले शिक्षकको अठोटलाई प्रवर्द्धन गर्न र विद्यार्थीको सिकाइमा गुणात्मक सुधार ल्याउन समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ।
मन्त्रालयले सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।