काठमाडौँ —

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले ढुवानी तथा यातायात क्षेत्रका लागि स्पष्ट नीति आवश्यक रहेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कर, बिमा र अनुमति प्रक्रियालाई डिजिटल एकद्वार प्रणालीमार्फत सरल बनाउनुपर्ने माग गरे।
सांसद नेम्वाङले ढुवानी तथा यातायात क्षेत्र राष्ट्रको गतिशीलता सुनिश्चित गर्ने मेरुदण्ड भएको उल्लेख गर्दै विपद् वा महामारीका बेला खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पुर्याउने काम यो क्षेत्रले गरेको स्मरण गरे। “हवाई सेवा नाजुक र भरपर्दो नहुँदा पनि यिनै व्यवसायीहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन्,” उनले भने।
उनले यो क्षेत्र कानुनी अष्पष्टता, नीतिगत अलमल, दोहोरो करको बोझ, एकद्वार प्रणालीको अभाव, पूर्वाधार विकासको कमी र इन्धनको अस्थिर मूल्यका कारण समस्याग्रस्त रहेको बताए। “स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ। कर, बिमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ,” उनले जोड दिए।
नेम्वाङले यी समस्याको समाधानका लागि नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराए।