२०८२ आश्विन २० गते, सोमबार २०:५२

वीरगन्जमा तस्करी नियन्त्रणका लागि आठ स्थानमा सिसी क्यामेरा जडान, निगरानीमा कडाइ

वीरगन्ज-

चोरी निकासी र अवैध पैठारी नियन्त्रण गर्न वीरगञ्जका संवेदनशील क्षेत्रमा आठवटा सिसी क्यामेरा जडान गरिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार छपकैया, सिर्सिया, बलिरामपुर र अलौँमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको हो।

जडान कार्यका क्रममा केही स्थानमा स्थानीय अवरोध आए पनि सोमबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल को नेतृत्वमा भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले कार्य सम्पन्न गरेको छ। प्रजिअ अर्यालले सिसी क्यामेरा जडानले तस्करी नियन्त्रणमा मनोवैज्ञानिक दबाब सिर्जना हुने र निगरानी प्रभावकारी हुने अपेक्षा व्यक्त गरे। “अब तस्करी नियन्त्रण थप सशक्त हुनेछ। सिसी क्यामेरामार्फत अवैध गतिविधि रोक्न सकिन्छ भन्ने विश्वास छ,” उनले भने।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछाने ले पहिलो चरणमा आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी क्यामेरा जडान गरिएको बताए। “संवेदनशील स्थानहरू पहिचान गरी क्यामेरा जडानको कार्यलाई निरन्तरता दिइरहेका छौँ। आगामी चरणमा पर्सा र बाराका छोटी भन्सार, नाका र अन्य जोखिमयुक्त ठाउँमा पनि क्यामेरा जडान गर्ने योजना छ,” उनले थपे।

जडान कार्यमा प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमाल लगायतको उपस्थिति रहेको थियो। स्थानीय निकाय र सुरक्षा निकायले यो कदमलाई तस्करी नियन्त्रणको प्रभावकारी पहलका रूपमा लिएका छन्।

यो प्रयासले सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार र तस्करीका गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस