काठमाडौं-
नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सांसद विकास कोषको रकमलाई लिएर अनावश्यक प्रचार भएको भन्दै सांसदहरूलाई कोष नभई योजना सिफारिस गर्ने अधिकारमात्र रहेको स्पष्ट पारे।
सांसद थापाले समाजमा केही व्यक्ति र समूहले सांसदको भूमिकालाई कमजोर बनाउन पूर्वाग्रही र नकारात्मक भाष्य निर्माणमा लागेको आरोप लगाए। उनले भने, “निर्वाचन क्षेत्रको विकास प्रक्रियामा सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित रूपमा जोड्नु अनिवार्य छ। एकथरी मानिसहरू सांसदहरूलाई यो कार्यबाट अलग गर्न वाहियात छलफल र बुद्धि विलासमा लागेका छन्।”

उनले १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरूले आ–आफ्नो क्षेत्रको विकासका लागि स्पष्ट घोषणापत्र र प्रतिबद्धतासहित मतदाताको विश्वास जितेको यथार्थलाई बजेट विनियोजनमा ध्यान दिनुपर्ने बताए। “सांसदहरूलाई योजना सिफारिस गर्ने अधिकार दिँदा किन बकबास गरिन्छ? बजेट सुन्ने, छलफल गर्ने र पारित गर्ने हाम्रो संवैधानिक अधिकार हो। जनप्रतिनिधिको भूमिका कमजोर बनाउने कुरा कुनै बहानामा सह्य हुँदैन,” उनले थपे।
थापाले यस्ता प्रयासले व्यवस्थाविरोधी, अस्थिरतावादी र अराजकतावादी प्रवृत्ति हौसिने तथा आम नागरिक र मतदाताहरूमा असन्तुष्टि बढ्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।