२०८२ असार १७ गते, मंगलवार ०७:१०

वीरगन्ज–

नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीले पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा व्याप्त अनियमितता, भ्रष्टाचार र बिचौलियाको प्रभाव निष्तेज पार्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै कमिटीले तत्काल सुधार नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

एमाले वीरगन्ज महानगरले यातायात व्यवस्था, मालपोत, नापी, भन्सार, विद्युत प्राधिकरणलगायत दर्जनौं कार्यालयमा बिचौलियाबिना सेवा प्राप्त गर्न नसकिने अवस्था रहेको आरोप लगाएको छ। कमिटीका अध्यक्ष नवराज शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “जनतालाई दैनिक कामका लागि कार्यालय धाउनुपरेको छ, तर पैसा र प्रभावबिना सेवा पाउन गाह्रो भएको छ।”

विज्ञप्तिमा प्रहरी प्रशासनमाथि पनि राजनीतिक र सामाजिक प्रभावमा परेर काम गर्ने तथा सानातिना विवादमा झुट्टा मुद्दा थोपर्ने प्रवृत्तिको आलोचना गरिएको छ। यस्तै, विकास निर्माणको गुणस्तर खस्किएको, अनुगमन नहुने र कमिसनको खेल मौलाएको भन्दै नियन्त्रण संयन्त्र कमजोर भएको उल्लेख छ। स्थानीय तहको निष्क्रियता र स्वास्थ्य क्षेत्रमा प्रभावकारी भूमिका नदेखिएकोमा पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ।

कमिटीले पाँच महिनाअघि जगरनाथपुरमा आगलागीबाट ४ बिघा धान खेत जलेको घटनामा हालसम्म राहत नपाएको र बन्दरगाह क्षेत्रको अधिग्रहणपछिको क्षतिपूर्ति बाँकी रहेको विषयमा तत्काल कदम चाल्न माग गरेको छ। “भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइ पर्साका सरकारी कार्यालयमा चुनौती बनेको छ,” विज्ञप्तिमा उल्लेख छ।

एमाले वीरगन्जले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, बिचौलिया प्रवेश निषेध गर्न दबाब दिने र झुट्टा मुद्दामा संलग्न निकायको भण्डाफोर गर्ने योजना अघि सारेको छ। परिस्थिति यथावत् रहेमा उत्पन्न सबै जिम्मेवारी सम्बन्धित निकायले वहन गर्नुपर्ने चेतावनी दिइएको छ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा अध्यक्ष नवराज शर्मा, महानगर इञ्चार्ज विचारी यादव, पूर्व नगरप्रमुख विजय कुमार सरावगी, सचिव जयनारायण सिंह कुर्मी, लेखा समिति अध्यक्ष अजय साह, वडा नं. १७ का वडा अध्यक्ष सञ्जिव बहादुर क्षेत्रीलगायत सहभागी थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस