रौतहट-
रौतहटको राजपुर नगरपालिका–४ मा अवैधरूपमा सञ्चालित औषधि पसल अनुगमन गर्न गएको औषधि व्यवस्था विभाग वीरगन्जको टोलीमाथि स्थानीय र पसल सञ्चालकले कुटपिट गरेका छन्। सोमबार भएको यो घटनामा दुई कर्मचारी घाइते भएका छन् भने प्रहरी निरीक्षकको मोबाइलसमेत तोडफोड गरिएको छ।
औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहका अनुसार दर्ता नगरी औषधि पसल सञ्चालन गरेको र प्रतिबन्धित औषधि बिक्री गरेको उजुरीका आधारमा अनुगमन टोली खटिएको थियो। अनुगमनका क्रममा स्थानीयले प्रतिकार गर्दै टोलीमाथि आक्रमण गरेका हुन्।
घटनामा फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। अनुगमन टोलीमा औषधि व्यवस्था विभागका कर्मचारीसहित जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्रराज कँडेल समावेश थिए। स्थानीयले प्रहरी निरीक्षक कँडेलको मोबाइल फुटाइदिएको र विभागका कर्मचारीका आवश्यक कागजात खोसिदिएको प्रमुख साहले बताए।

उजुरीका अनुसार स्थानीय शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षौंदेखि अवैधरूपमा औषधि पसल सञ्चालन गर्दै आएका थिए। रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र कुटपिटमा संलग्नहरूको खोजी कार्य जारी रहेको जानकारी दिए।
यो घटनाले अवैध औषधि पसलविरुद्धको अनुगमनमा सुरक्षा चुनौती थपिएको देखिएको छ।साभारः अन्नपूर्णपोष्ट