नयाँ दिल्ली-
भारतमा कोभिड-१९ को सङ्क्रमण फेरि फैलिन थालेको छ। यद्यपि हालको अवस्थामा भारतमा कोभिडका केसहरू त्यति चिन्ताजनक नभए पनि केही राज्यहरूमा सङ्क्रमणको सङ्ख्या बढ्दै गएको देखिएको छ। हाल देशभर २५७ सक्रिय केसहरू रहेका छन्। केही राज्यमा न्यून सङ्ख्यामा केसहरू छन् भने केहीमा सङ्ख्या उल्लेख्य छ। उदाहरणका लागि, हरियाणा, पश्चिम बङ्गाल र सिक्किममा १-१ केस मात्र छन् भने केरलमा ९५ सक्रिय केस छन्।
राजधानी दिल्लीमा हाल ५ सक्रिय केस छन्। यद्यपि, केही राज्यहरूमा कोभिडको एक पनि केस देखिएको छैन। तमिलनाडुमा ५५ र महाराष्ट्रमा ४५ सक्रिय केस छन्। यहाँ विभिन्न राज्यमा रहेका सक्रिय केसहरूको विवरण प्रस्तुत गरिएको छ।

कुन राज्यमा कति सक्रिय केस?
राज्य | सक्रिय केस
* केरल – ९५
*तमिलनाडु – ५५
* महाराष्ट्र – ४५
* कर्नाटक – ८
* पुडुचेरी – ६
* गुजरात – ६
* दिल्ली-५
* राजस्थान – २
* हरियाणा -१
* पश्चिम बङ्गाल – १
* सिक्किम -१
* जम्मा -२५७
एसियामा कोभिड-१९ को लहर तीव्र
एसियाका केही देशहरूमा कोभिड-१९ का केसहरू तीव्र गतिमा बढिरहेका छन्। हङकङ, सिङ्गापुर, थाइल्याण्ड र चीनमा पनि कोभिड-१९ का केसहरूमा वृद्धि देखिएको छ। सिङ्गापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, २७ अप्रिलदेखि ३ मे २०२५ को हप्तामा कोभिड-१९ का केसहरू ११,१०० बाट बढेर १४,२०० पुगेका छन्।
सिङ्गापुरमा यो अवधिमा कोभिड-१९ का कारण अस्पताल भर्ना हुनेको औसत सङ्ख्या १०२ बाट बढेर १३३ पुगेको छ। थाइल्याण्डमा ११ मे देखि १७ मे सम्ममा केसहरू ३३,०३० पुगेका छन् भने बैंककमा ६,००० केस देखिएका छन्। त्यस्तै, हङकङमा पनि ६ देखि १२ अप्रिलसम्मको ४ हप्तामा कोभिड-१९ का केसहरू ६.२१% बाट १३.६६% ले बढेका छन्।
स्वास्थ्य विशेषज्ञहरूले सतर्कता अपनाउन र कमजोर प्रतिरक्षा भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूलाई बुस्टर खोप लिन सुझाव दिएका छन्। भारतमा हाल कोभिड-१९ को अवस्था नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ, तर सतर्कता र निगरानीलाई निरन्तरता दिइएको छ।