वीरगन्ज –
पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा हालका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंहले साउदी अरबको पवित्र स्थल मक्का-मदिनातर्फ हज यात्रामा जाने मुस्लिम धर्मावलम्बीहरूलाई बिदाइ गरेका छन्। यो घटनाले पर्सा जिल्लामा चर्चाको विषय बनेको छ।
मेयर सिंहले गत मंगलबार आफ्ना प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित काठमाडौंको एक मस्जिदमा पुगेर हज यात्रामा जाने वीरगन्जका मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिएका थिए। उनको सचिवालयका अनुसार, मेयर सिंहले मुस्लिम समुदायको यो पवित्र यात्रालाई सम्मान गर्दै उनीहरूको सुरक्षित र शान्तिपूर्ण यात्राको कामना गरे। त्यस्तै, मन्त्री यादवले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर हज यात्रीहरूलाई फूलमाला र खादा अर्पण गरी सम्मानपूर्वक बिदाइ गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए। उनले लेखे, “हज यात्रा इस्लाम धर्मको महान् कर्तव्य र आध्यात्मिक यात्राको प्रतीक हो। यो यात्रा शारीरिक मात्र नभई आत्मिक शुद्धिकरणको अवसर पनि हो। सम्पूर्ण हज यात्रीहरूलाई सुरक्षित र शान्तिपूर्ण यात्राको शुभकामना।”

नेपालभर छरिएर रहेका मुस्लिम समुदायका श्रद्धालुहरू जिल्ला हज समितिहरूमार्फत सिफारिस भई केन्द्रीय हज समितिद्वारा तय गरिएको कोटाअनुसार यो पवित्र यात्रामा सहभागी भएका छन्। मन्त्री यादव र मेयर सिंहको यो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। तर, यसले सामाजिक सञ्जालमा धर्मनिरपेक्षताको सिद्धान्तमाथि बहस पनि सुरु भएको छ।
धर्मनिरपेक्षतामाथि प्रश्न
पर्साका सैरभ सहले सामाजिक सञ्जाल फेसबुकमा मन्त्री यादवको तस्बिर साझा गर्दै टिप्पणी गरेका छन्। उनले लेखे, “मुस्लिम धर्मावलम्बी हज यात्रीहरूको बिदाइलाई सम्मान गर्छु, यो सराहनीय कार्य हो। तर, केही महिना अघि महाकुम्भमा पवित्र स्नान गर्न जानेहरूलाई यी नेताहरूले बिदाइ गरेनन्। एउटा धर्मलाई प्राथमिकता र अर्कोलाई बेवास्ता गर्नु धर्मनिरपेक्षताको सिद्धान्तविपरीत छ।” उनको यो टिप्पणीले सामाजिक सञ्जालमा व्यापक बहस निम्त्याएको छ। धेरैले धर्मनिरपेक्ष देशमा सबै धर्मप्रति समान व्यवहार हुनुपर्ने माग गरेका छन्।
श्रीराम जयन्ती झडप र मेयरको मौनता
यसैबीच, केही महिनाअघि श्रीराम जयन्तीको अवसरमा वीरगन्जको छपकैयामा सोभायात्राको क्रममा दुई समुदायबीच भएको झडपको विषय पनि पुनः चर्चामा आएको छ। उक्त घटनामा मेयर सिंहले हालसम्म कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। तर, मन्त्री यादवले बैशाख ३ गते सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका थिए। उनले लेखे, “स्थानीय प्रशासनले दोषीको पहिचान गरी कानुनी कारबाही अगाडि बढाउनुपर्छ। सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्छ।”
सामाजिक सद्भावको सन्देश
मन्त्री यादव र मेयर सिंहको हज यात्रा बिदाइलाई धेरैले सामाजिक सद्भावको सन्देशका रूपमा लिएका छन्। तर, श्रीराम जयन्तीको झडप र महाकुम्भजस्ता अन्य धार्मिक अवसरहरूमा उनीहरूको मौनताले धर्मनिरपेक्षताको सवालमा प्रश्न उठाएको छ। पर्सा जिल्लामा सामाजिक सद्भाव कायम राख्न नेताहरूले सबै धर्म र समुदायलाई समान प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ।