२०८२ असार १७ गते, मंगलवार ०७:०८

वीरगन्ज –

चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पर्सा जिल्लामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन्। सवारी दुर्घटनाका कारण हुने मृत्युको सङ्ख्या न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सातामा एकपटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले सवारी दुर्घटना न्यूनीकरणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले भने, “हामीले सातामा एकपटक ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ। गत वर्ष ५१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। यो वर्ष हामीले सचेतना अभियानमार्फत ज्यान गुमाउनेको सङ्ख्या घटाउन विशेष जोड दिएका छौँ।”

यसै क्रममा, वीरगन्जका चोक–चोकमा ट्राफिक सचेतनासम्बन्धी अभियानलाई तीव्रता दिइएको छ। बुधबार साँझ वीरगन्जको घण्टाघर चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा एक घण्टे सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा यात्रुहरूलाई लक्षित गरी प्रशिक्षण प्रदान गरिएको थियो।

प्रमुख भट्टले ट्राफिक नियमको पालना गर्न सवारी चालक र यात्रुहरूलाई अनुरोध गर्दै भने, “सवारी दुर्घटनाका कारण धेरैले ज्यान गुमाइरहेका छन्। ट्राफिक नियमको पालना गरेर ठूला दुर्घटनाबाट जोगिन सकिन्छ। त्यसैले सावधानीका उपायहरू अपनाउन हाम्रो आग्रह छ।”

यसैगरी, समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज सर्राफले सवारी दुर्घटना न्यूनीकरणका लागि आफ्नो संस्थाले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए। कार्यक्रम संयोजक दिलीपराज कार्कीले रोगको तुलनामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको उल्लेख गर्दै ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए।

जिल्ला प्रहरी कार्यालय र स्थानीय संस्थाहरूको संयुक्त प्रयासले पर्सामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना गराउने अभियानले गति लिएको छ। स्थानीय प्रशासन र नागरिक समाजले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सचेतना फैलाउन र सवारी दुर्घटना कम गर्न कटिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस