काठमाडौँ –
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली रुकुम पूर्व पुगेको छ। बिहीबार बिहान अध्यक्ष प्रचण्डसहितको टोलीले रुकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ।
उक्त अवलोकनका क्रममा सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले मार्टले स्थानीय उत्पादनको बजारीकरण र किसानहरूलाई उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको जानकारी गराए। प्रचण्डको निजी सचिवालयका अनुसार, बुढामगरले स्थानीय स्तरमा उत्पादन हुने जैविक वस्तुहरूको माग उच्च रहेको र त्यसअनुसार उत्पादन वृद्धि गर्न सहकारी सक्रिय रहेको बताए।

अध्यक्ष प्रचण्डले सहकारीको प्रयासको प्रशंसा गर्दै स्थानीय उत्पादन र जैविक खेतीलाई प्रोत्साहन गर्न सरकार र पार्टीको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। मध्यपहाडी लोकमार्ग अभियान टोलीले स्थानीय समुदायको आर्थिक विकास र आत्मनिर्भरताका लागि यस्ता सहकारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेको छ।