काठमाडौँ –
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १८औँ संस्करणमा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लखनउको अटल बिहारी बाजपेई (इकाना) स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
जारी सिजनको ६५औँ खेलका रूपमा इकाना स्टेडियममा पहिलो पटक बेंगलुरु र हैदराबाद आमनेसामने हुन लागेका हुन् । दुवै टोलीले यो सिजनको आफ्नो १३औँ खेल खेल्दैछन् । बेंगलुरुले प्ले–अफमा स्थान पक्का गरिसकेको छ भने हैदराबाद उपाधि होडबाट बाहिरिइसकेको छ । क्वालिफायर–१ मा स्थान बनाउने लक्ष्यमा रहेको बेंगलुरुका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ ।

हाल बेंगलुरु १२ खेलमा १७ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । आठ जित, तीन हार र एक अनिर्णीत खेलसहित बेंगलुरुले उत्कृष्ट प्रदर्शन गरेको छ । यदि शुक्रबारको खेलमा बेंगलुरु विजयी भएमा १९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
यता, हैदराबाद १२ खेलमा ९ अंकसहित तालिकाको आठौँ स्थानमा छ । चार जित, सात हार र एक अनिर्णीत खेलसहित हैदराबादको प्रदर्शन यो सिजन कमजोर रह्यो । उपाधि होडबाट बाहिरिइसकेकाले हैदराबाद दबाबमुक्त भएर खेल्नेछ, जसले बेंगलुरुका लागि चुनौती खडा गर्न सक्छ ।
बेंगलुरुले आफ्नो अन्तिम लिग खेल लखनउ सुपर जायन्ट्ससँग र हैदराबादले कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । यो खेलले बेंगलुरुको शीर्ष स्थानको यात्रा र हैदराबादको सम्मानजनक प्रदर्शनको अवसरलाई प्रभाव पार्नेछ ।