२०८२ असार १७ गते, मंगलवार ०१:१८

सप्तरी-

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखामा गएराति चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र कुमार बस्नेतका अनुसार चोरी राति १२:२० बजेदेखि बिहान ३:०० बजेको बीचमा भएको हो।

बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका–५ का ४४ वर्षीय पर्शुराम चौधरी गार्ड सुत्ने कोठामा सुतिरहेको बेला चोरी भएको प्रहरीले जनाएको छ। चोरले गार्डको कोठाको दराजबाट १२ बोरको एक नाले बन्दुक, २० राउन्ड गोली, दुईवटा मोबाइल, एक डिजिटल तराजु र झोला चोरेका थिए। घटनाको जानकारी गार्डले बिहान ३:३० बजे इलाका प्रहरी कार्यालय कल्याणपुरलाई दिएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको कमान्डमा तत्काल टोली खटिएको थियो। प्रहरी सञ्चार सेटमार्फत चोरीको विवरण सप्तरी, सिरहा लगायतका जिल्लामा सर्कुलर गरिएको थियो। सीसीटीभी फुटेज पनि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको थियो।

चोरीमा संलग्न भएको आशंकामा सिरहाको लहान नगरपालिका–३ हस्पिटल चोक नजिकबाट खडक नगरपालिका–६ बिरपुर बस्ने २० वर्षीय अपसाद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहानको टोलीले बिहान ३:४५ बजे चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको डीएसपी बस्नेतले बताए।

अंसारीको साथबाट चोरी भएको एक नाले बन्दुक, २० राउन्ड गोली, दुईवटा कम्प्युटर स्क्यानर, दुईवटा ल्यापटप, दुईवटा खुकुरी, दुईवटा घडी, पाँचवटा मोबाइल र एक डिजिटल तराजु बरामद भएको छ। चोरी भएको हतियार बैंकबाट ५०० मिटर पश्चिमको झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अंसारीलाई सुरुमा इलाका प्रहरी कार्यालय लहानमा राखिएको थियो। हाल उनलाई बरामद सामानसहित कल्याणपुर लगिएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटाइएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस