काठमाडौं-
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराले अनुसन्धान लगभग सकिएको र आज साँझसम्म प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने बताएका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न ६१ जनालाई प्रतिवादी बनाउने तयारी छ। उनीहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चारवटा कसुरमा मुद्दा दायर गरिनेछ। घटनाको अनुसन्धान चैत १५ गतेदेखि नै सुरु भएको थियो। हालसम्म १७० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्, जसमध्ये ५३ जना प्रहरी हिरासतमा छन्।

चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण भनिए पनि हिंसात्मक बनेको थियो। प्रदर्शनका क्रममा लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानलाई प्राथमिकतामा राखेको छ। राजावादी समूहले आउँदो जेठ १५ गते पुनः प्रदर्शनको तयारी गरिरहेको बताइएको छ।
सत्तापक्षका सांसदहरूले तीनकुने घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने माग गरेका छन्। लोकतान्त्रिक पक्षधरहरूले राजावादीको हिंसात्मक प्रदर्शनलाई देशमा अराजकता निम्त्याउने प्रयासको रूपमा लिएर त्यसलाई निस्तेज पार्न कडा कदम चाल्नुपर्ने बताएका छन्। यता, सत्तापक्ष र विपक्षीले यो घटनाबारे विपरीत धारणा राखेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानलाई तीव्रता दिएको र दोषीहरूलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने जनाएको छ।