२०८२ श्रावण २९ गते, बिहीबार १७:०६

 काठमाडौं –

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनः निवेदन दायर भएको छ। अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले शुक्रबार सर्वोच्च अदालत प्रशासनमा यो निवेदन पेस गरेका हुन्। सर्वोच्च प्रशासनले निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ।

यसअघि पौडेलको नियुक्ति रोक्न माग गर्दै यी अधिवक्ताहरूले दायर गरेको रिट सर्वोच्चले ‘अपरिपक्व’ भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। मन्त्रिपरिषद्को ६ जेठको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको थियो। उनले ७ जेठमा शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन्।

निवेदनमा पौडेललाई राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रको अनुभव नभएको र संस्थागत कार्यानुभवको अभाव भएको दाबी गरिएको छ। साथै, उनको नियुक्ति प्रक्रियाले राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ र ३२, तथा सुशासन ऐन, २०६४ को दफा १८ को उल्लंघन गरेको आरोप लगाइएको छ। निवेदनमा पौडेल आफैं सिफारिस समितिको सदस्य रहेको अवस्थामा ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति गरिएको दाबी गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस