काठमाडौं-
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको माग राख्दै अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेको छ। गणतन्त्र दिवसको दिन पारेर आयोजना गरिएको यो प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले जनधनको क्षति हुन नदिने गरी व्यापक सुरक्षा योजना बनाइएको बताए। “हामी सुरक्षा योजना बनाएर अगाडि बढ्छौं, जनधनको क्षति हुन दिँदैनौं। त्यस दिनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौं। थप जनशक्ति मगाएर पनि सुरक्षा व्यवस्थापन गर्छौं,” खनालले भने।

यसअघि चैत १५ मा राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो। तिनकुने क्षेत्रमा भएको उक्त प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दर्जनौं घाइते भएका थिए भने तोडफोड र आगजनीका घटना समेत भएका थिए। यसपटक प्रहरीले त्यस्ता घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ।
संयुक्त जनआन्दोलन समितिले शान्तिपूर्ण आन्दोलनको दाबी गरे पनि विगतका घटनालाई मध्यनजर गर्दै प्रहरीले उपत्यकाका प्रमुख चोक र सभास्थलहरूमा बाक्लो उपस्थिति राख्ने तयारी गरेको छ। समितिले देशभरका जिल्ला, पालिका र वडाहरूमा समेत स्वतःस्फूर्त जुलुस र धर्ना गर्ने योजना बनाएको छ।