पोखरा –
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। उनले जनताको हक, अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्न एमाले सधैँ अग्रभागमा रहेको दाबी गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्कने हल्ला फैलाएकोप्रति कटाक्ष गर्दै ओलीले भने, “पूर्वराजाको कुण्डली मात्र हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ। राजतन्त्र अब फर्किंदैन, किनकि नेपाली जनताले त्यसलाई फालिसकेका छन्। हामी प्रतिगमनविरुद्ध लड्नेहरू यहाँ छँदैछौँ।”

प्रधानमन्त्री ओलीले प्रतिगमनका प्रयासहरूलाई “धूलोपीठो” बनाइने चेतावनी दिँदै युवा संघलाई यस्ता प्रयास रोक्न अग्रभागमा उभिन आह्वान गरे। उनले भने, “प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर चाहिन्छ भन्ने उत्ताउला कुरा गर्नेहरूलाई म भन्छु, कुनै पनि प्रतिगमनका प्रयासलाई हामी नियन्त्रण गर्छौँ। युवाहरू तयारी अवस्थामा रहनुपर्छ।”
एमालेमाथि चौतर्फी आक्रमण
अध्यक्ष ओलीले एमालेमाथि आन्तरिक र बाह्य शक्तिहरूबाट केन्द्रित आक्रमण भइरहेको बताए। “हामीले गल्ती गरेको भए आज यो ठाउँमा हुने थिएनौँ। एमाले सही नीति, सुशासन र विकासको पक्षधर पार्टी हो,” उनले भने। उनले एमालेको पक्षमा बोल्दा “झोले” भन्ने आरोप लगाएर हतोत्साहित गर्ने प्रयास भएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे।
स्थिरता र सुशासनका लागि एमाले-काँग्रेस गठबन्धन
प्रधानमन्त्री ओलीले राजनीति नबुझेका व्यक्तिहरूको हातमा सत्ता जाँदा मुलुकमा अस्थिरता आएको उल्लेख गर्दै अहिलेको एमाले-काँग्रेस गठबन्धन सरकार स्थिरता र सुशासनका लागि बनेको बताए। उनले सरकार ढाल्ने हल्ला चलाउनेहरूलाई जवाफ दिँदै भने, “आगामी १४ महिनापछि म राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु। हामी सरकारमा रहेर निष्पक्ष निर्वाचन गराउँछौँ।”
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
ओलीले भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको दाबी गरे। उनले एमालेको योगदानलाई बिर्साउने र नेतृत्वमाथि झूठा आरोप लगाउने प्रयास भइरहेको भन्दै देशभक्त र एमाले कार्यकर्तालाई एकजुट भएर यस्ता भ्रम चिर्न आह्वान गरे।