बारा-
बारा प्रहरीले झण्डै ५४ लाख रुपैयाँ बराबरको अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरस्थित इलाका प्रहरी कार्यालय अगाडिको चेकपोइन्टमा प्रहरी सहायक निरीक्षक राजन सिवाकोटीको नेतृत्वमा खटिएको टोलीले उक्त ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ना–५ ख ६७४७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा शंकास्पद बिलसहित अवैध सामान फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता खेम प्रसाद नेपालका अनुसार, बरामद सामानमा ५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरको कपडा, लङ (ज्वारो), धागो, चप्पललगायतका खुद्रा सामग्रीहरू रहेका छन्।

पक्राउ परेको ट्रक र सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बाराको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।