२०८२ असार १७ गते, मंगलवार ०१:२४

रक्सौल/गणेश शंकर

भारतको प्रसिद्ध धर्मगुरु तथा वृन्दावनस्थित गौरी गोपाल आश्रमका संस्थापक श्री अनिरूद्धाचार्य जी महाराजको एक दिवसीय भक्ती सत्सङ्ग तथा प्रवचन कार्यक्रम भारत विकास परिषद् रक्सौल शाखाको आयोजनामा भव्य रूपमा सम्पन्न भएको छ। संस्कार प्रकल्पअन्तर्गत आयोजित यो कार्यक्रम रक्सौलको लक्ष्मीपुरस्थित वाई.एस. रिसोर्टमा सम्पन्न भएको हो।

हजारौं श्रद्धालुहरूको उपस्थितिले सत्सङ्ग स्थल खचाखच भरिएको थियो। नगर प्रवेशका क्रममा श्री महाराजको भव्य स्वागत पुष्पवर्षा र आरतीसहित गरिएको थियो। प्रवचनका क्रममा उनले मानव सेवा, मातापिताको सेवा र राष्ट्र सेवालाई सर्वोच्च धर्मको रूपमा प्रस्तुत गरे। साथै, समाजमा रहेको छुवाछुत, जातीय विभेद र कुरीतिविरुद्ध जनचेतना फैलाउन जोड दिँदै देशको एकता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सजग रहन आग्रह गरे।

श्री महाराजले आफ्नो वृन्दावनस्थित गौरी गोपाल आश्रमबारे प्रकाश पार्दै भने, “हाम्रो आश्रममा परिवारबाट तिरस्कृत ३०० वृद्ध आमाहरूको सेवा भइरहेको छ र दैनिक ३०,००० जनालाई निःशुल्क भोजन प्रदान गरिन्छ।” उनका प्रेरणादायी सन्देशले श्रद्धालुहरूलाई मानव कल्याणतर्फ उन्मुख गराएको थियो।

कार्यक्रममा श्री महाराजले मधुर भजन प्रस्तुत गर्दा उपस्थित भक्तजनहरू भावविभोर बनेका थिए। कार्यक्रमको समापनमा महाप्रसाद वितरण गरिएको थियो। भारत विकास परिषद् रक्सौल शाखाका सम्पूर्ण सदस्यहरू र स्थानीय प्रहरी प्रशासनले कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका खेलेका थिए। परिषद् सचिव डा. राजेन्द्र प्रसाद सिंह र मिडिया प्रभारी रजनीश प्रियदर्शीले श्री महाराजको उपस्थितिले रक्सौलवासीलाई धार्मिक र आध्यात्मिक लाभ दिएको बताए।

कार्यक्रमको सफलतामा परिषद् सदस्य अवधेश सिंह, सीताराम गोयल, डा. एस.के. सिंह, सुनील कुमार, अजय कुमार, बिमल सर्राफ, विजय कुमार र महिला तथा बाल विकास संयोजिका श्रीमती बी.एस. दासको विशेष योगदान रहेको मिडिया प्रभारीले जनाएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस