सर्लाही –
सर्लाही प्रहरीले लालबन्दी नगरपालिकामा गरेको गस्ती चेकजाँचका क्रममा १५ लाख मूल्य बराबरको सुन-चाँदीका गरगहना र नगदसहित भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी बरामद गरेको छ। बिहान साढे ९ बजे पूर्व-पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीले बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, चेकजाँचका क्रममा गाडीका चालकले मदिरा सेवन गरेको र भन्सार कागजात नभएको फेला परेपछि शङ्का लागेर खानतलासी गरिएको थियो। चालकलाई अर्को चालक र कागजात ल्याउन भनिएकोमा चार जना पुरुष गाडी छाडेर फरार भए। लामो समयसम्म नफर्किएपछि प्रहरीले जनप्रतिनिधिको रोहवरमा खानतलासी गर्दा गाडीको इन्जिन भागमा लुकाइएको जेब्रा झोलाभित्र गम्छाले बेरेर राखिएको सुन-चाँदीका गरगहना र गाडीभित्रबाट नगद बरामद भएको छ।

बरामद सामान र गाडीलाई आवश्यक कारबाहीका लागि मलङ्गवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए। यो घटनाले सीमावर्ती क्षेत्रमा तस्करीको गम्भीर समस्यालाई उजागर गरेको छ।