२०८२ असार १७ गते, मंगलवार ०१:३९

पर्सा-

देशको प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गर्दै नेपालमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको आयातमा आकर्षक वृद्धि भएको छ। गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाकाबाट अटो रिक्साको आयात ३ सय प्रतिशतले उकालो लागेको छ। यस्तै, तयार मोटरसाइकलको आयात ४६ प्रतिशत र अन एसेम्बल्ड मोटरसाइकलको आयात ८४ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको १० महिनामा ९ करोड रुपैयाँको ४ सय ६७ वटा अटोरिक्सा आयात भएकोमा चालु आवको सोही अवधिमा ३६ करोड रुपैयाँको १ हजार ८ सय ५९ थान अटो आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। यो अवधिमा १ हजार ३ सय ९२ थान बढी अटो आयात भई ३० करोड रुपैयाँ राजस्व संकलन भएको सुचना अधिकारी अमित तिवारीले बताउनुभयो। उहाँले अटोसँगै मोटरसाइकलको आयातमा समेत उल्लेख्य वृद्धि भएको उल्लेख गर्नुभयो।

गत आवको १० महिनामा वीरगन्ज नाकाबाट २६ करोड रुपैयाँको २ हजार ४ सय थान तयार मोटरसाइकल र ३ अर्ब १० करोड रुपैयाँको २१ हजार ४ सय ९७ थान अन एसेम्बल्ड मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा ३४ करोड रुपैयाँको ३ हजार ५ सय १६ थान तयार मोटरसाइकल र ५ अर्ब १७ करोड रुपैयाँको ३९ हजार ४ सय ४१ थान अन एसेम्बल्ड मोटरसाइकल आयात भएको छ। अधिकृत तिवारीले तयार मोटरसाइकलबाट ४२ करोड र अन एसेम्बल्ड मोटरसाइकलबाट ४ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो।

यो वृद्धिले व्यापारिक गतिविधिमा नयाँ उचाइ हासिल भएको संकेत गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस