काठमाडौँ-
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनुभएको छ ।
सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोईरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उहाँको चरित्र हत्या गर्ने काम भएकोप्रति आफु स्पष्ट भएको बताउनुभएको हो । गृहमन्त्रीले एक इन्चपनि गल्ती नगरेको र उहाँमाथि लगाइएका सबै आरोप गलत भएको दावी गर्दै मंगलवारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिनुभयो ।

नेता कोईरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताउनु भयो । प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोईरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने बताउनु भयो । उहाँले च्यालेन्ज फेस गर्दै निश्चित बाटो निकाल्न सक्नु नै आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।
उहाँले पार्टी चलाउन संगठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै संगठनलाई निकास दिनका लागिमात्रै बैठकहरु गरिरहेको स्पष्ट पार्नुभयो ।