वीरगन्ज –
मनसुनको पूर्वसन्ध्यामा वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्रका मुख्य तथा सहायक नालाहरूको सफाइ अभियानलाई तीव्रता दिएको छ। बाढीजन्य जोखिम न्यूनीकरण गर्न अतिक्रमण हटाउने र वर्षौंदेखि अवरुद्ध नालाहरूको सरसफाइलाई प्राथमिकता दिइएको छ।
मंगलबार महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा वडा नं. ११ र १३ अन्तर्गत पर्ने मुख्य नालाको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। अनुगमन टोलीले अल्पाइन स्कूल हुँदै श्रीपुर क्षेत्रसम्म फैलिएको नालाको अवस्था अध्ययन गरेको थियो। निरीक्षणका क्रममा नाला अतिक्रमणमा परेको, लामो समयदेखि सफाइ नहुँदा पानीको निकास अवरुद्ध भएको र बाढीको समयमा जलजमावको समस्या देखिएको पाइयो।

स्थानीय बासिन्दाहरूले अनुगमनका क्रममा घरभित्रसम्म पानी पस्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने समस्याहरूबारे गुनासो गरेका थिए। यी गुनासोलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले तत्काल नाला सफाइ र अतिक्रमण हटाउन निर्देशन दिएका छन्। “स्थानीयको समस्या समाधानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ,” उनले भने, “दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन र नाला संरक्षणसम्बन्धी योजना पनि निर्माण गरिनेछ।”
अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वडा नं. १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्यलगायत सहभागी थिए।
महानगरले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूको पनि अनुगमन गरी तत्काल समाधान र पूर्वाधार सुधारमा जोड दिने जनाएको छ।