वीरगन्ज –
एक नाबालिका बालिकालाई अपहरण गरी भारत पुर्याएर पटकपटक करणी गरेको गम्भीर आरोपमा २५ वर्षीय मनिष पासवानलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पीडित पक्षको जाहेरीका आधारमा पासवानलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि म्याद थप गरेको जनाएको छ।
प्रहरीका अनुसार, गत मंसिर २५, २०८१ मा बिहान १० बजे खाना खाएर बजार गएकी ती बालिका घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा भारतको बिहार स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १५, भिष्वामा डेरा गरी बस्दै आएका पासवानले ‘बिहे गर्छु’ भन्दै झुटो प्रलोभनमा पारी बालिकालाई ललाई फकाई भारत लगेको खुलेको छ।

पीडित पक्षका अनुसार, भारतमा पटकपटक करणी गरेपछि पासवानले बालिकालाई जेठ ११, २०८२ मा वीरगन्ज ल्याएर छाडेका थिए। जाहेरी प्राप्त भएलगत्तै प्रहरीले जेठ १२ मा पासवानलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले पासवानविरुद्ध करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।