वीरगन्ज –
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ०७, रेलवे रोड, कुमाल टोलमा मिति २०८२ जेठ १२ गते राति करिब २०:३५ बजे सवारी दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक अज्ञात पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, वीरगंज म.न.पा. वडा नं. १६, भुटनदेवी टोल बस्ने नारायण प्रसाद बर्णवालका २१ वर्षीय छोरा किसन बर्णवालले हाँकेको मधेश प्रदेश ०३-००२ स ४३८८ नम्बरको लोडर गाडीले उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा पैदल यात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको टाउकोमा गहिरो चोट लागेको थियो।

घाइतेलाई तत्काल नारायणी अस्पताल, वीरगंजमा उपचारका लागि लगिएको थियो। तर, उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि L.S. न्युरो एण्ड जेनरल अस्पताल, परवानीपुर, बारामा रेफर गरिएको थियो। चिकित्सकले मिति २०८२ जेठ १३ गते राति ००:३५ बजे ती पुरुषलाई मृत घोषणा गरे।
मृतकको विवरण र सनाखतको अपिल
प्रहरीले मृतकको शव नारायणी अस्पतालको शव गृहमा राखिएको जनाएको छ। हालसम्म मृतकको सनाखत हुन सकेको छैन। मृतकको हुलिया निम्नानुसार छ:
– लम्बाइ: ५ फिट ६ इन्च
– लुगा: आकाशे रंगको हाफ टि-सर्ट, निलो जिन्स प्यान्ट
– शारीरिक बनावट: मझौला, तराई मूलको जस्तो देखिने
– उमेर: करिब २८ वर्ष
प्रहरीले मृतकलाई चिन्ने व्यक्ति वा आफन्तलाई तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। घटनास्थलमा प्रहरी टोलीले लाशजाँच मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको सनाखतका लागि जो-कोहीले नजिकको प्रहरी कार्यालय वा वीरगंज प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।