२०८२ असार १७ गते, मंगलवार ०७:३०

काठमाडौं –

पाकिस्तानी राजनीतिक विश्लेषक, लेखक तथा मानव अधिकारकर्मी डा. अमजद अयुब मिर्जाले काठमाडौंको दरबारमार्गस्थित कश्मीरी जामिया मस्जिदमा भारतविरुद्ध ठूलो आतंकवादी आक्रमणको योजना बनेको सनसनीपूर्ण दाबी गरेका छन्।

डा. मिर्जाले आफ्नो युट्युब च्यानल ‘रेडियो हिमालय न्यूज’ मार्फत सार्वजनिक गरेको भिडियोमा यो खुलासा गरेका हुन्। उनले जनाएअनुसार, २०८२ जेठ ७ (मे २१, २०२५) को मध्यरात १ देखि ३ बजेसम्म उक्त मस्जिदमा जमात-ए-इस्लामीको गोप्य बैठक बसेको थियो। सो बैठकमा जुन ६ देखि १६ (ईद अल-अधाको समय) सम्म भारतमा ठूलो आतंकवादी आक्रमणको खाका तयार भएको उनको दाबी छ।

जमात-ए-इस्लामी, जसले आफूलाई इस्लामी राजनीतिक र सामाजिक संगठन दाबी गर्छ, माथि बंगलादेशमा आतंकवादी गतिविधिको आरोप लागे पनि पुष्टि नभएको भन्दै छ महिनाअघि प्रतिबन्ध फुकुवा भएको थियो। मिर्जाका अनुसार, यो योजनामा पाकिस्तानी आतंकवादीहरू प्रत्यक्ष संलग्न नभई विदेशी आतंकवादीहरू प्रयोग गरिनेछन् र भारतभित्र गुप्त रूपमा सक्रिय समूहहरूको सहयोग लिइनेछ।

उनले नेपाललाई पाकिस्तानको गुप्तचर संस्था आइएसआईको ‘गढ’ भएको र यहाँबाट आतंकवादी गतिविधि सञ्चालन हुने गरेको गम्भीर आरोप पनि लगाएका छन्। डा. मिर्जाले यो जानकारी भारतीय गुप्तचर निकायसम्म पुगिसकेको हुनसक्ने अनुमान गरेका छन्।

पाकिस्तान नियन्त्रित कश्मीरका नागरिक डा. मिर्जा हाल बेलायतमा निर्वासित जीवन बिताइरहेका छन् र सामाजिक सञ्जालमार्फत भारतको पक्षमा आफ्ना विचार राख्दै आएका छन्।

नेपाल प्रहरी वा अन्य सुरक्षा निकायले यो दाबीबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। यो दाबीको सत्यता पुष्टि हुन बाँकी छ र यसले नेपाल-भारत सम्बन्धमा थप संवेदनशीलता ल्याउन सक्ने अनुमान गरिएको छ।

यस्तो छ डा. मिर्जालको भिडियो

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस