काठमाडौं-
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। बुधवार जेलमुक्त भएका आलमलाई शुक्रवार बिहान ७ बजे मस्तिष्कघात भएपछि परिवारले बिहान १०:३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरेको छ। उनको हाल सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
आलम २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछिको हत्याकाण्डमा संलग्न भएको आरोपमा जेल परेका थिए। संविधानसभा निर्वाचनको अघिल्लो दिन उनको योजनामा बम बनाउने क्रममा विस्फोट भएको थियो, जसमा दुई जनाको मृत्यु र ११ जना घाइते भएका थिए। अभियोगअनुसार, आलमले घाइतेहरूलाई आफन्तको इँटाभट्टामा ज्युँदै जलाएर हत्या गरेका थिए।

पीडितका आफन्त शेख रुक्सना खातुन र श्री नारायण सिंहको जाहेरीमा आलममाथि १४ जनाको हत्या गरेको आरोप थियो। २०७६ असोज २७ गते पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालत वीरगन्जले २०८२ जेठ १४ गते उनलाई सफाइ दिएको थियो।