२०८२ असार १७ गते, मंगलवार ०१:००

वीरगन्ज –

वीरगन्ज महानगरपालिकामा ठूलो भ्रष्टाचारको भण्डाफोर हुने संकेत देखिएको छ। वडा नं. १२ का वडा अध्यक्ष सुरेश गुप्ताले मेयर राजेशमान सिंहमाथि सनसनीपूर्ण भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत विस्फोटक खुलासाको घोषणा गरेका छन्। उनको यो कदमले वीरगन्जको राजनीतिक वृत्तमा हलचल मच्चिएको छ।

गुप्ताले आफ्नो फेसबुक पोस्टमा आक्रामक रूपमा लेखेका छन्, “वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लामो समयदेखि लुकाइरहेको भ्रष्टाचारको कालो कर्तुत मसँग लुकाउन सकिएन। मेरो हातमा यस्ता गोप्य कागजात र प्रमाण छन्, जसले सबैलाई चकित पार्नेछ। २०८२ जेठ १८ गते दिउँसो १२ बजे म यी सबै काला कर्तुत वीरगन्जवासीलाई सडकमै उभिएर खुलासा गर्नेछु।”

वडा अध्यक्ष गुप्ताले कस्तो प्रकृतिको भ्रष्टाचार र कुन स्तरको रहस्य खोल्ने भन्नेबारे कुनै सङ्केत दिएका छैनन्, जसले रहस्यमय वातावरण सिर्जना गरेको छ। उनको यो चेतावनीले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म चर्चाको विषय बनेको छ। मेयर सिंह र उनको टिममाथि लाग्न लागेको यो गम्भीर आरोपले महानगरपालिकाको नेतृत्वमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।

मेयर राजेशमान सिंहले यो कडा आरोपको जवाफमा हालसम्म मौनता साँधेका छन्, जसले थप शङ्का उत्पन्न गरेको छ। स्थानीय नागरिक, पत्रकार र राजनीतिक विश्लेषकहरू गुप्ताको खुलासालाई लिएर तीव्र उत्सुकतासहित जेठ १८ को पर्खाइमा छन्। “यो खुलासाले वीरगन्जको राजनीतिमा भूकम्प ल्याउन सक्छ,” एक स्थानीय विश्लेषकले भने।

गुप्ताले सार्वजनिक गर्ने भनिएको ‘विस्फोटक रहस्य’ कति ठोस प्रमाणसहित आउँछ र यसले मेयर सिंहको राजनीतिक करियरमा कस्तो प्रभाव पार्छ, त्यो जेठ १८ गते दिउँसो १२ बजे नै थाहा हुनेछ। तर, यो घटनाले वीरगन्ज महानगरपालिकाको सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाइसकेको छ। सबैको ध्यान अब गुप्ताको सनसनीपूर्ण खुलासातर्फ केन्द्रित छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस