काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार राजावादीहरूसँग डराएको र गणतन्त्र कमजोर हुँदै गएको दाबी गरेका छन्। शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नारायणहिटी दरबार आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुले सरकारको कमजोरी र डर स्पष्ट भएको बताए।
“हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँमा राप्रपालगायत राजसंस्था पक्षधरहरूको प्रदर्शन हुने भएपछि निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको र कमजोर भएको प्रमाणित हुन्छ,” लिङ्देनले भने। उनले थपे, “हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। यो कुराले हामीलाई दुखी होइन, बरु उत्साहित बनाएको छ।”

लिङ्देनले जेठ १५ र १६ गते राप्रपाले गरेको दुईदिने प्रदर्शनको प्रभावले सरकारले निषेधित क्षेत्र घोषणा गरेको जिकिर गरे। उनले गणतन्त्र झनै कमजोर हुँदै गएको दाबीसमेत गरे। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेठ १६ गते नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
शनिबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा आन्दोलनलाई थप मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबैलाई परिचालन गर्ने निर्णय भएको लिङ्देनले जानकारी दिए। राप्रपाले जेठ १५ र १६ गते काठमाडौंमा लगातार दुई दिन प्रदर्शन गरेको थियो।
उनले आगामी कार्यक्रमहरूलाई झनै प्रभावकारी बनाउँदै आन्दोलनलाई निरन्तरता दिने राप्रपाको योजना रहेको पनि बताए।