काठमाडौं –
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाले आम नागरिकलाई सेवा प्रदान गर्दा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताएका छन्। शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
मन्त्री चौरसियाले न्यायपालिकाको कार्यले जनतामा विश्वास बढ्ने र दक्षिण एशियामै उत्कृष्ट मानिएको नेपालको न्यायपालिका अझ सक्षम बन्ने बताए। उनले न्यायपालिका आम नागरिकको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै न्याय निरूपण र कार्यान्वयनमा न्यायमूर्तिहरूको महत्त्वपूर्ण भूमिका हुने जोड दिए।

“व्यवस्थापिकाले कानुन बनाउँछ, कार्यपालिकाले प्रयोग गर्छ। तर, संविधानसम्मत कानुन बनेको छ कि छैन र कार्यपालिकाले त्यसलाई ठीक ढंगले प्रयोग गरेको छ कि छैन भन्ने अनुगमनको जिम्मेवारी न्यायपालिकाको हो,” उनले भने।
मन्त्री चौरसियाले मधेसको एउटा कथालाई उदाहरण दिँदै बुद्धि र विवेकको महत्त्वबारे प्रष्ट्याए। उनले भने, “एउटा विद्वानले नदीको गहिराइ नापेर परिवारलाई खोलामा छिरायो, तर बच्चाहरू डुबे। हिसाब ठीक भए पनि विवेकको कमीले बच्चाहरू डुबे। त्यसैले, न्यायपालिकाले न्यायसँगै विवेकको प्रयोग गर्नुपर्छ।”
उनले छिटोछरितो कामले जनताको विश्वास अझै बढ्ने र नेपालको न्यायपालिका दक्षिण एशियामै सक्षम बन्ने बताए। साथै, भारत र ब्रिटिश न्यायपालिकासँग सम्बन्ध विस्तार भएको र प्रधानन्यायाधीशको नेतृत्वमा न्यायपालिकाको गरिमा कायम रहेको उनको भनाइ थियो।
मन्त्री चौरसियाले न्यायपालिकालाई आवश्यक सहयोगका लागि मन्त्रालय सधैं तयार रहेको पनि स्पष्ट पारे।