२०८२ असार १७ गते, मंगलवार ०१:३४

जनकपुर-

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दो भ्रष्टाचार, लुटपाट र कुशासनका कारण देश धरासायी बन्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरेका छन्।

आज जनकपुरधाममा आयोजित ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले वर्तमान दलतन्त्रले गणतन्त्रलाई बदनाम गरेको र मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताए।

साहले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुई तिहाइको गठबन्धन सरकारले जनतामा असन्तुष्टि बढाएको र अहिलेको बजेटले मुलुकको समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए। उनले बजेटले नेपालको पुँजी विदेश लैजाने बाटो खोलेर अर्थतन्त्रलाई डुबाउने काम गरेको र मधेश तथा कर्णालीमा विभेद गरेको दाबी गरे।

उनले सरकारले २५ प्रतिशत पुँजी विदेश लैजान पाउने व्यवस्था गरेर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न खोजेको भन्दै यसमा बिचौलियाको भूमिका रहेको औंल्याए। साहले सीमावर्ती क्षेत्रमा प्रहरीद्वारा निजी सम्पत्ति लुटपाट भएको र सरकारले नक्कली भिजिट भिसाको नाममा मानव तस्करी गरिरहेको आरोपसमेत लगाए।

आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आजपाका नेताहरु रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साह लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस