२०८२ आश्विन २० गते, सोमबार १५:५९

काठमाडौँमा दाहालको चेतावनी : राजावादीको भ्रम र जालझेलविरुद्ध गाउँ-टोलमा वैचारिक सङ्घर्षको आह्वान

काठमाडौँ –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी र प्रतिगमनकारीले फैलाएको भ्रम र जालझेलविरुद्ध जनतालाई सजग गराउन गाउँ-टोल र घर-घरमा वैचारिक सङ्घर्ष गर्नुपर्ने बताएका छन्। योङ कम्युनिष्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले नारायणहिटी हत्याकाण्ड, बलात्कार र मूर्ति चोरीजस्ता घटनामार्फत राजावादीको इतिहास जनतासमक्ष पुर्‍याउनुपर्ने जोड दिए।

अध्यक्ष दाहालले प्रतिगमनकारीहरूले राजतन्त्रको पक्षमा तर्क फैलाउन थालेको भन्दै तदारुकतापूर्वक प्रतिवाद गर्नुपर्ने बताए। “संस्थागत पहलको कमीले प्रतिगमनकारी छाडा भएका छन्। नारायणहिटी हत्याकाण्ड र मूर्ति चोरीका नाइके को हुन्? राजा हत्यारा र तस्कर हुन् भन्ने कुरा जनताले बुझ्नुपर्छ,” उनले भने। उनले यथास्थितिवाद र प्रतिगमनविरुद्ध वैचारिक सङ्घर्षलाई गाउँ-टोलसम्म पुर्‍याउन आह्वान गरे।

दाहालले वाइसिएललाई कम्युनिष्ट पार्टीको सहायक मात्र नभई भविष्यका नेतृत्व तयार गर्ने कारखानाको रूपमा व्याख्या गरे। “म २०३८ सालमा युवा भेलाबाट नेतृत्वमा आएँ। वाइसिएलका साथीहरूले आफूलाई भावी नेताको रूपमा तयार गर्नुपर्छ,” उनले भने। उनले नेपालको क्रान्ति नौलो जनवादी नभई सङ्क्रमणकालीन संघीय लोकतान्त्रिक व्यवस्थाको रूपमा स्थापित भएको बताए। “यो परम्परागत संसदीय व्यवस्था होइन, समावेशी र समानुपातिक व्यवस्था हो,” उनले स्पष्ट पारे।

उनले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने, तर भ्रष्टाचार र सुशासनविरोधी कार्यलाई कुनै हालतमा स्वीकार नहुने बताए। “यथास्थितिवादी र प्रतिगमनकारीविरुद्ध सङ्घर्ष जटिल छ। हामीले भ्रष्टाचारविरोधी र सामाजिक न्यायको अभियानलाई गाउँ-गाउँमा पुर्‍याउनुपर्छ,” उनले भने।

यो सम्मेलनले माओवादी आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गरेको भन्दै दाहालले क्रान्तिकारी विचार र नीतिमा आधारित जनकार्यले मात्र देशलाई युगान्तकारी दिशामा लैजाने बताए। उनको यो सम्बोधनले राजावादी र यथास्थितिवादीविरुद्ध माओवादीको वैचारिक सङ्घर्षलाई थप तीव्र बनाउने सङ्केत गरेको छ।

पोडकास्ट सुन्नुहोस