जनकपुर –
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी ६४ वटा पक्की सडक योजनाको एकैसाथ शिलान्यास गरेका छन्। मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत यी आयोजनाहरूको शिलान्यास सम्पन्न भएको हो। यो कदमलाई मधेस प्रदेश सरकारले ऐतिहासिक र गौरवपूर्ण क्षणका रूपमा लिएको छ।
मधेस प्रदेशका आठवटै जिल्लाका ६४ प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर लम्बाइका कालोपत्रे सडक निर्माण हुने भएको छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यी आयोजनाहरूका लागि १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले स्रोत सुनिश्चित भई ठेक्का प्रक्रिया सम्पन्न भएको र अब निर्माण कार्यले तीव्रता पाउने बताए।

मन्त्री यादवका अनुसार, पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ, र बाँकी कार्य तीव्र गतिमा अघि बढ्ने छ। यी सडकहरूको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ। साथै, प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा पक्की पुल निर्माणको प्रक्रिया पनि शुरू भइसकेको छ। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न वातावरणमैत्री प्रविधिको प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
यो योजनाले सडक सुविधा नपुगेका गाउँहरूलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने मन्त्री यादवले बताए। मधेस प्रदेश सरकारले यो पहललाई क्षेत्रको समृद्धि र विकासको कोसेढुङ्गा मानेको छ। समारोहमा प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गर्दै मधेसको समग्र विकासमा यो आयोजनाले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।