२०८२ असार १७ गते, मंगलवार ०१:३६

सिमरा –

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा आइतबार साँझ इलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवाले डिजेल कुपनको विषयलाई लिएर ताण्डव नृत्य देखाएकी छन्। आफ्नो पदीय मर्यादा बिर्सेर डिएसपी वाइवाले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव शान्तिराज प्रसाईको कार्यकक्षमा आक्रोशपूर्ण व्यवहार प्रदर्शन गरेकी हुन्।

डिएसपी वाइवाले बताएअनुसार, उनले आइतबार उपमहानगरपालिकासँग १०० लिटर डिजेल माग गर्दै एक जवान पठाएकी थिइन्। तर, सहसचिव प्रसाईले २० लिटर डिजेल र १० लिटर पेट्रोलको कुपन पठाएपछि उनलाई रिस उठ्यो। साँझ ५:१५ बजे कार्यालय समयपछि उनी आफैं उपमहानगरपालिकाको कार्यालय पुगिन्। सहसचिव प्रसाई कार्यालयबाट निस्कने तयारीमा थिए। उनले डिएसपीलाई बस्न आग्रह गरे पनि तेलको कुपनमा चित्त नबुझेपछि उनले प्रहरीलाई हेपेको भन्दै आक्रोशित रूपमा प्रस्तुत भइन्।

विवादको क्रममा डिएसपी वाइवाले जवानले ल्याएको कुपन च्यातेर सहसचिवको टेबलमा फ्याँकिदिइन्। उनले आफूले विगतमा १०० लिटर डिजेल लिँदै आएकोमा अचानक कुपन घटाइएकोमा असन्तुष्टि जनाउँदै कुपन च्यातेको र फोटो खिचेर राखेको बताइन्।

डिएसपी वाइवा इलाका प्रहरी कार्यालय सिमराको प्रमुख भएदेखि पटक–पटक विवादास्पद गतिविधिमा संलग्न छिन्। केही दिनअघि जीतपुर बजारको सांस्कृतिक महोत्सवमा स्टेज चढेर माइकको तार चुँडाएको र सिमरा विमानस्थलमा सर्वसाधारणलाई अनावश्यक हतकडी लगाएको घटनाले पनि उनको आलोचना भएको थियो।

यस घटनाबारे बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मौखिक जानकारी प्राप्त भएको र लिखित उजुरी आएपछि छानबिन अघि बढ्ने बताए। उनले भने, “जीतपुरसिमरामा सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, डिएसपीको तहबाट भएको यो व्यवहार गलत छ, अनुशासनहीनता देखिएको छ। छानबिन गरी कारबाही हुन्छ।” साभार-नयाँ ईतिहास.कम

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस