पर्सा-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सामा आन्तरिक किचलो चुलिएको छ। पार्टीका मधेस प्रदेश कार्यसमितिका कोषाध्यक्ष तथा पर्सा जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मीमाथि कार्यकर्ताको मनोबल घटाउने र पार्टीको लोकप्रियतामाथि आँच पुर्याउने कार्यमा संलग्न रहेको आरोप लागेको छ।
पर्सा जिल्लाका राप्रपा कार्यकर्ताहरूले जगन्नाथ प्रसाद कुर्मीले आफ्नो फेसबुक वालमा आन्दोलनमा सहभागी हुन आएका केही नेताहरूको फोटो सामाजिक सञ्जालबाट लिएर दुरुपयोग गर्दै अपमानजनक तरिकाले मजाक उडाएको आरोप लगाएका थिए। यस कार्यले कार्यकर्ताको मनोबल खसाउने दुस्प्रयास भएको उनीहरूको भनाइ थियो।

आरोप लगाइएका फोटोहरूमा राप्रपाका केन्द्रीय सह-महामन्त्री प्रेम ब्लायेर, केन्द्रीय सदस्य निरञ्जन थापा, पूर्व नगर अध्यक्ष जलेश्वर सर्राफ, पर्सा जिल्ला सदस्य विजेन्द्र झा, पर्साको क्षेत्र नं. २ बाट सांसद पदका प्रत्यासी नरेश साह कानू र मधेस प्रदेश सभा सदस्य क्षेत्र-१ (ख) का प्रत्यासी विनय झा लगायतका नेता तथा उहाँहरुसँग आएका टोलीहरू देखिन्थे। स्मरण रहोस्, विनय झाले मधेस प्रदेशमै सबैभन्दा बढी मत ल्याएका थिए।
राप्रपा पर्साका पूर्व नगर अध्यक्ष जलेश्वर सर्राफले जगन्नाथ कुर्मीको यस गैरजिम्मेवार कार्यले अन्य राप्रपाप्रति आस्था राख्ने कार्यकर्ताहरूको मानसिकतामा नकारात्मक असर पर्ने भन्दै यस्तो कार्यको लेखाजोखा गर्नुपर्ने बेला आएको बताएका थिए। उनले पर्सा जिल्लामा राप्रपाको लोकप्रियता खस्काउने कार्यमा कुर्मीको बढी संलग्नता रहेको पर्साका कार्यकर्ताहरूले आरोप लगाउँदै आएको पनि उल्लेख गरे।
सर्राफले व्यक्तिगत रूपमा जगन्नाथ कुर्मीलाई अनुरोध गर्दै पार्टीको महत्वपूर्ण पदमा आसीन रहेकाले यस्ता गल्तीहरूलाई सुधार्दै अगाडि बढ्न शुभकामना दिएका थिए। यद्यपि, उनले कार्यकर्तालाई गुलाम र पार्टीलाई आफ्नो प्राली सम्झिने भूल नगर्न पनि चेतावनी दिएका छन्। “पार्टी सबैको साझा हो र पार्टीमा तपाईंको मात्र होइन, एउटा साधारण कार्यकर्ताको पनि उत्तिकै लगानी छ,” सर्राफले भनेका थिए।
जलेश्वर सर्राफको विरोधपछि हटाइयो पोस्ट
यसैबीच, पूर्व नगर अध्यक्ष जलेश्वर सर्राफको विरोध पछि जगन्नाथ प्रसाद कुर्मीको फेसबुक पेजबाट विवादित पोस्ट हटाइएको छ। यो घटनाले राप्रपा पर्साभित्रको आन्तरिक विवादलाई सतहमा ल्याएको छ र यसले आगामी दिनमा पार्टीको संगठनमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो बढेको छ।