२०८२ मंसिर ४ गते, बिहीबार २२:०५

गृहमन्त्रीको राजीनामा नआए संसद अवरुद्ध कायमै राख्ने रास्वपाको चेतावनी

काठमाडौँ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने निर्णय दोहोर्‍याएको छ। आज (सोमबार) पार्टी कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकले यो अडान लिएको हो।

रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान राख्दै आएको छ। माग पूरा नभए संसद अवरुद्ध गरिराख्ने चेतावनी पनि रास्वपाले दिएको छ।

गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभई सरकारको अभिभावकको रूपमा प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि नलागेर समग्र बेथितिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए।

सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो। सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि विभिन्न कमिटी गठन गरिएको पनि कार्यवाहक प्रवक्ता झाले बताए।

पोडकास्ट सुन्नुहोस