वीरगन्ज –
वीरगन्ज महानगरपालिकाको बजारमा अहिले खुलेआम विषादीयुक्त आँपको बिक्री-वितरण भइरहेको पाइएको छ, जसले आम सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने खतरा बढाएको छ। नियामक निकाय भने यस विषयमा आँखा र कान बन्द गरेर बसेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
बजारमा भारतबाट काँचो आँप आयात गरी वा चोरीपैठारी गरेर ल्याइएका आँपमा ‘क्वाइट’ (विषादी) मिसाई पकाएर बिक्री भइरहेको गुनासो बम्बारहेको छ। यसरी विषादी प्रयोग गरी पकाइएका आँप हेर्दा आकर्षक र पाकेको देखिए पनि यसले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्ने विज्ञहरूले चेतावनी दिएका छन्।

विशेषज्ञहरूका अनुसार, विषादी प्रयोग गरिएको आँपको सेवनले पेटसम्बन्धी समस्या, झाडापखाला, बान्ता, एलर्जी लगायतका तत्कालिन स्वास्थ्य समस्या देखिन सक्छन्। दीर्घकालमा यसले क्यान्सर, मिर्गौला र कलेजोको समस्या समेत निम्त्याउन सक्ने जोखिम रहेको छ।
यस विषयमा वीरगन्ज महानगरपालिकाको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय जस्ता नियामक निकायहरूले बजार अनुगमन र नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै जनगुनासो चुलिएको छ। खुला सिमानाका कारण अवैध आयात र विषादीको प्रयोग बढिरहेको र यसलाई नियन्त्रण गर्न ठोस पहल नभएको स्थानीयको भनाइ छ।
वीरगन्जको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज सिंहका अनुसार, उपभोक्तालाई यस्ता विषादीयुक्त फलफूलबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। उहाँले आँप खरिद गर्दा त्यसको रङ्ग, गन्ध र प्राकृतिकपन मा ध्यान दिनुपर्ने र शंका लागेमा खरिद नगर्न सुझाव दिनुभएको छ। साथै, खरिद गरिसकेपछि पनि राम्ररी धोएर मात्र सेवन गर्न सल्लाह दिएका छन्।
के नियामक निकायहरूले यस विषयमा तत्कालै आवश्यक कदम चालेर जनस्वास्थ्यमा भइरहेको खेलवाडलाई रोक्ला त? आम वीरगन्जवासी यसको जवाफको पर्खाइमा छन्।