काठमाडौं –
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ। स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपालले २९७ रनको विशाल लक्ष्य अन्तिम बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गरेको हो।
अन्तिम बलमा नेपाललाई जीतका लागि १ रन आवश्यक रहेको थियो। सोही क्रममा करण केसीले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो।

नेपालको ऐतिहासिक जीतमा करण केसीले विष्फोटक ब्याटिङ प्रदर्शन गर्दै ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे। यसअघि ओपनर कुशल भुर्तेलले पनि ४४ बलमा ११ चौकासहित ५३ रनको योगदान दिएका थिए। कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल तयार पारेको थियो। स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन बनाएका थिए।
बलिङतर्फ नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले १ विकेट आफ्नो नाममा दर्ता गराएका थिए।
यो जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ सातौं स्थानमा उक्लिएको छ। पराजित स्कटल्याण्ड १७ खेलमा २० अङ्कका साथ चौथो स्थानमा रहेको छ।
विश्वकप लिग–२ ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो। लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउनेछन् भने पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ। यस जीतले नेपालको विश्वकप छनोटको सम्भावनालाई थप बलियो बनाएको छ।