वीरगन्ज-
सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत पर्सा जिल्लाका प्रमुख खेलकुद संरचनाहरूको निर्माण र स्तरोन्नतिका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेट दस्तावेजअनुसार, यो रकमले जिल्लाका विभिन्न खेलमैदान र कभर्ड हलहरूको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
बजेटअनुसार, वीरगन्जको नारायणी रंगशालाको स्तरोन्नतिका लागि ४ करोड, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हलका लागि ४ करोड, आर्दशनगर रंगशाला र बढनियार खेलमैदानका लागि ३ करोड, तथा जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान निर्माणका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ।

यो लगानीले पर्सा जिल्लामा खेलकुद संरचनाको विस्तार हुने र स्थानीय खेलाडीहरूलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। यसले क्षेत्रीय खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।