वीरगन्ज-
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले लगाएको ताला मंगलबार बिहान खोलिएको छ। स्ववियु निर्वाचनका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यार्थी भर्ना गरी मतदान गराएको आरोपमा संगठनले लामो समयदेखि विरोध जनाउँदै आएको थियो।
संयुक्त विद्यार्थी संगठनले १८ जना विद्यार्थीको शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी गरेको थियो। यसै सन्दर्भमा विभिन्न चरणमा जिल्ला प्रशासन कार्यालय, पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायत सरोकारवालाहरूसँग बैठकहरू भएका थिए। संगठनले आवश्यक छानबिन र कारबाहीको माग गर्दै आएको थियो।

यही जेठ ४ गते संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद शाखालगायतका शाखाहरूमा ताला लगाएर आन्दोलनको स्वरूपलाई तीव्र पारेको थियो। सोही दिन विद्यार्थी नेताहरू श्याम गुप्ता, अनिस पटेल र सागीर अलिलाई प्रहरीले नियन्त्रणमा लिएर एक दिन हिरासतमा राखेको थियो।
निरन्तर आन्दोलन र दबाबपछि तीन दिनअघि शंकास्पद विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र छानबिनका लागि जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत छानबिन समितिमा पठाइने भएपछि संयुक्त विद्यार्थी संगठनले मंगलबार बिहान ताला खोलेको विद्यार्थी नेता श्याम गुप्ताले बताए।
यो घटनाले क्याम्पसमा शैक्षिक प्रमाणपत्रको पारदर्शिता र निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको छ। छानबिन समितिको प्रतिवेदनले थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।