२०८२ असार १७ गते, मंगलवार ०७:२७

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा माथि कुनै जात नरहेको स्पष्ट पार्नुभएको छ। जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा एक महत्त्वपूर्ण सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानवता र समानतामा आधारित समाजको परिकल्पना गर्नुभएको हो।

उहाँले आमाले ‘जात’ नभई ‘नवजात मानव’ जन्माउने र समाजले मात्रै पछि जात र थरको प्रश्न उठाउने बताउनुभएको छ। “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो,” उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले मानवताको सर्वोच्चतामाथि प्रकाश पार्दै भन्नुभएको छ, “मानवताभन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ।”

उहाँको यो सन्देशले जातीय विभेद अन्त्य गरी समतामूलक समाज निर्माणका लागि थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। जातीय छुवाछूत उन्मूलन दिवसले समाजमा व्याप्त जातीय असमानतालाई चिर्दै मानवीय मूल्य र समानतालाई स्थापित गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस