२०८२ मंसिर ५ गते, शुक्रबार १२:१६

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने एक जना सिरहामा पक्राउ

सिरहा-

सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै १ लाख ७० हजार रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो।

प्रहरी नायब उपरीक्षक पासवानका अनुसार, सिरहा नगरपालिका–१६ माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा महतोले उनको मुद्दा मिलाइदिने भन्दै रकम लिएका थिए। विवेककी आमा रानीदेवी यादवले प्रहरीमा दिएको जाहेरीमा महतोले २०८१ असार २७ गते आफूसँग १ लाख ७० हजार रुपैयाँ लिएको उल्लेख गरेकी छिन्।

पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको छ। प्रहरी नायब उपरीक्षक पासवानले कसैले पनि काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाणसहित प्रहरीमा उजुरी गर्न आग्रह गर्नुभएको छ।

पोडकास्ट सुन्नुहोस