२०८२ असार १७ गते, मंगलवार ००:५८

पर्सा –

पर्साको भेडीयाहीस्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाबीच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउनेसम्बन्धी एक महत्वपूर्ण सम्झौता भएको छ। बुधबार अस्पतालको सभा हलमा वीरगन्ज महानगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यस सम्झौताले वीरगन्जका बासिन्दाहरूलाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

सम्झौता अन्तर्गतका मुख्य छुटहरू:

यस स्वास्थ्य सम्झौता अन्तर्गत नेशनल मेडिकल कलेजले विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट उपलब्ध गराउनेछ, जुन निम्नानुसार छन्:

  • ओपिडी टिकट: २५ प्रतिशत छुट
  • जेनरल बेड चार्ज: १५ प्रतिशत छुट
  • आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्ज: ५ प्रतिशत छुट
  • जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिक: ८ प्रतिशत छुट
  • प्याथोलोजी जाँच: १० प्रतिशत छुट
  • भिडियो एक्सरे, एक्सरे, इसिजी, इन्डोस्कोपी: ७ प्रतिशत छुट
  • सिटीस्क्यान, एमआरआई: ७ प्रतिशत छुट
  • फार्मेसी ओपिडी: १० प्रतिशत छुट
  • फार्मेसी आईपिडी: १५ प्रतिशत छुट

यो उपचार सेवा शुल्क छुट प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयको लेटर प्याडमा सिफारिस अनिवार्य हुनेछ।

निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम:

छुटका अतिरिक्त, नेशनल मेडिकल कलेजले ३२ वटै वडा कार्यालयहरूमा प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। साथै, रक्तदान कार्यक्रमको आयोजना गर्ने सम्झौता पनि भएको छ, जसले सामुदायिक स्वास्थ्य प्रवर्धनमा थप टेवा पुर्याउनेछ।

अवधि र भविष्यका योजना:

आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहनेछ र आवश्यकता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए।

ऐतिहासिक दिनको रूपमा चित्रण:

सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। उनीहरूले आजको दिनलाई ऐतिहासिक दिन को रूपमा मानेका छन्। वडा अध्यक्षहरूले आजदेखि गरिब, असहाय मानिसहरूलाई नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने आशा व्यक्त गर्दै खुसी प्रकट गरे।

अस्पतालका निर्देशक डाक्टर ईसरत जहान अन्सारीले पनि आजको दिन सबैका लागि ऐतिहासिक रहेको बताउँदै अब सहरदेखि गाउँसम्मका जनताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे।

सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर केएन सिंह र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। यस सम्झौताले वीरगन्ज क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस