२०८२ असार १६ गते, सोमबार २३:०३

काठमाडौं-

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले जितका लागि २२६ रनको लक्ष्य पाएको छ। स्कटल्यान्डको डुन्डीस्थित फर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रन बनाउँदै अलआउट भयो।

नेदरल्यान्ड्सका लागि तेस्रो विकेटका लागि विक्रमजित सिंह र कप्तान स्कट इडवार्ड्सले ७२ रनको साझेदारी गर्दै इनिङ्स उकासे। विक्रमजितले ५६ बलमा २ चौकासहित ३८ रन बनाएर सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट क्याच आउट भए। कप्तान स्कटले ७१ बलमा ४६ रन जोड्दा ललित राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। नोह क्रोइसले ४८ रन बनाएर सोमपाल कामीको बलमा बोल्ड भए। जच लायन–क्याचेट २७ रनमा ललित राजवंशीको बलमा करण केसीबाट क्याच आउट भए भने तेजा निडामनुरु १३ रनमा सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए। रोइलोफ भान डेर मेर्वे २० रनमा रनआउट भए।

नेदरल्यान्ड्सका ओपनर माइकल लेविट १ र म्याक्स ओ’डाउड ४ रनमा पवेलियन फर्के। अन्तिम ओभरमा सोमपाल कामीले भिभियन किंग्मालाई १ रनमा बोल्ड गर्दै नेदरल्यान्ड्सलाई अलआउट गरे।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट हात पारे।

नेपालले केहीबेरमा २२६ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङ शुरू गर्नेछ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस