धनगढी –
भारतबाट गौरीफन्टा नाकाहुँदै फर्केका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमा २ पुरुष र १ महिला रहेका छन्।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट आएका ३७ जनाको एन्टीजेन परीक्षण गर्दा कञ्चनपुर, कैलाली र अछामका १–१ जनामा कोरोना पोजेटिभ देखिएको हो। उनीहरू दिल्ली, गुजरात र पञ्जाबबाट फर्केका थिए।

“संक्रमितहरूलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ र जनप्रतिनिधिहरूलाई निगरानी गर्न भनिएको छ,” जोशीले भने। उनीहरूको पीसीआर परीक्षणका लागि नमूना काठमाडौं पठाइएको छ।
जोशीले कोरोना परीक्षण किटको अभाव रहेको बताए। “हामीसँग किटहरू कम छन्, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छौं,” उनले भने। उनका अनुसार सबै सीमा नाकामा हेल्थ डेस्क र प्राविधिकहरू खटिएका छन् र शंकास्पद व्यक्तिहरूको परीक्षण भइरहेको छ।
भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको सन्दर्भमा सीमा नाकाहरूमा थप सतर्कता अपनाइएको छ।