बारा –
इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ। उनको स्थानमा अब डीएसपी वेद जोशीले सिमराको कमाण्ड सम्हाल्ने भएका छन्।
प्रहरी प्रधान कार्यालयले ‘केही बुझ्नुपर्ने’ कारण देखाउँदै वाइवालाई हेडक्वाटर फिर्ता बोलाइएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आवश्यकताअनुसार वाइवालाई फिर्ता बोलाइएको बताए।

डीएसपी वाइवाले सिमराको नेतृत्व सम्हालेको ६ महिना पनि पूरा भएको थिएन। उनको सरुवा जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँगको विवादसँग जोडिएको बुझिएको छ। केही दिनदेखि उनीहरूबीच तनाव चल्दै आएको थियो। उपमहानगरपालिकाले वाइवामाथि तेलको कुपन च्यातेको आरोप लगाएको छ। यता, वाइवा निकट स्रोतले सहसचिव प्रसाईंले घटनाबारे आफूलाई ब्रिफिङ नगरेको भन्दै सरुवाको धम्की दिएको र त्यसैअनुसार सरुवा भएको दाबी गरेको छ।
तर, कानूनअनुसार प्रशासकीय अधिकृतलाई अपराध अनुसन्धान वा शान्ति सुरक्षाको बारेमा प्रहरीले रिपोर्टिङ गर्नुपर्ने कुनै प्रावधान छैन।
यो सरुवाले सिमराको प्रहरी प्रशासनमा नयाँ नेतृत्वको आगमन भएको छ, र यसले स्थानीय प्रशासन र प्रहरीबीचको समन्वयमा कस्तो प्रभाव पार्छ, त्यो आगामी दिनमा देखिनेछ।