२०८२ असार १७ गते, मंगलवार ०१:१०

जनकपुर –

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकारले महिला सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र समग्र विकासमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताएका छन्। जनकपुरधाममा आयोजित तरकारी तथा बाख्रा क्षेत्रमा संवेदनशील मूल्य श्रृंखला प्रमाणीकरण कार्यक्रममा बोल्दै उनले आगामी बजेटमा महिलालाई लक्षित योजनाहरूलाई विशेष प्राथमिकता दिइने जानकारी दिए।

‘अब महिलालाई अघि ल्याउने, सक्षम बनाउने र उनीहरूको सहभागिता सुनिश्चित गर्ने समय आएको छ,’ मन्त्री जयसवालले भने। उनले मधेशमा कृषिको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै महिलालाई कृषि, लघु उद्यम, सीप विकास र स्वरोजगारमुखी कार्यक्रमहरूमा सहभागी गराउने तयारी भइरहेको बताए।

मन्त्री जयसवालले नेपालमा विद्यमान ३३ प्रतिशत महिला आरक्षणलाई मधेश प्रदेशले ५० प्रतिशतमा पुर्‍याएको उल्लेख गर्दै यसलाई ऐतिहासिक कदमको संज्ञा दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमको दोस्रो चरण सञ्चालन गर्न ६ महिनाको सम्झौता भएको जानकारी दिइयो। सम्झौताअनुसार जनकपुरधाममा कृषि मूल्य श्रृंखला मूल्यांकनको आवासीय कार्यशाला आयोजना गरिनेछ, जसमा प्रदेश सरकारको प्रतिनिधिको सहभागिता अनुरोध गरिएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेशका अध्यक्ष अशोक तेमानी, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, सचिव चुडामणि फुयाल, डिबी बस्नेत, सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस