२०८२ असार १७ गते, मंगलवार ०१:३६

जनकपुर–

रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा काठमाडौंबाट पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१४ का स्थायी बासिन्दा रहेका महतो हाल काठमाडौंको सिफलचौरमा बस्दै आएका थिए। मंगलबार प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि धनुषा पठाएको छ।

धनुषा जिल्ला प्रहरी कार्यालयका एसपी नरहरि रेग्मीका अनुसार, दिगहवा–लोखरम सडक निर्माण प्रकरणमा ठगीसम्बन्धी उजुरीका आधारमा जिल्ला अदालत धनुषाले जेठ ६ गते महतोविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सडक निर्माणको ठेक्का रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिले संयुक्त रूपमा पाएका थिए। तर, एस एन्ड बी प्रालिका सञ्चालक सन्तोषकुमार यादवले रमण कन्स्ट्रक्सनले साझेदार कम्पनीलाई जानकारी नदिई ९ करोड २१ लाख र ८ करोड ९७ लाख रुपैयाँको बैंक ग्यारेन्टीसहित एडभान्स पेमेन्टको २ करोड ६७ लाख रुपैयाँ झिकेको आरोप लगाएका छन्।

उक्त रकम काठमाडौंको चाबहिलस्थित एक बैंक शाखाबाट पवन महतोको हस्ताक्षरमा निकालिएको उजुरीमा उल्लेख छ। यही आधारमा महतो पक्राउ परेका हुन्। यस प्रकरणमा पवन महतोका बुवा बलराम महतो र दाजु रमण महतोमाथि पनि पक्राउ पुर्जी जारी भएको छ, तर उनीहरू हाल फरार छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पवन महतो मंगलबार धनुषा पठाइएको र अनुसन्धान धनुषा प्रहरीको समन्वयमा अघि बढिरहेको जानकारी दिए। रमण कन्स्ट्रक्सन यसअघि धरहरा पुनर्निर्माणको ठेक्कालगायतका विवादमा पनि तानिएको कम्पनी हो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस