२०८२ असार १७ गते, मंगलवार ०१:००

पर्सा–

ट्राफिक नियमको महत्व, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ट्राफिक सप्ताह २०८२’ आजदेखि पर्सामा औपचारिक रूपमा सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सात दिनसम्म चल्ने यो कार्यक्रमको उद्घाटन प्रभातफेरीमार्फत गरिएको छ।

प्रभातफेरीमा विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता, ट्राफिक प्रहरी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो। उद्घाटन समारोहमा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रा, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, नगर प्रहरी प्रमुख हरि भुसाल, समाजसेवी जयप्रकाश खेतान, कमल चौलागाईं, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतको उपस्थिति रहेको थियो।

प्रहरी निरीक्षक भट्टले ट्राफिक सप्ताह अवधिभर वीरगञ्जका विभिन्न स्थानमा ट्राफिक नियम, सडक सुरक्षा, सवारी सञ्चालनको मर्यादा र दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। यी कार्यक्रममा स्कूल–कलेजमा अन्तरक्रिया, पम्प्लेट वितरण, पोस्टर प्रदर्शन, सडक नाटक र ट्राफिक नियमसम्बन्धी प्रशिक्षण समावेश हुनेछन्।

ट्राफिक प्रहरीले ट्राफिक नियमको पालना गर्दा सडक दुर्घटना कम हुने र सवारी यात्रा सुरक्षित तथा सहज हुने जनाउँदै सबै नागरिकलाई ट्राफिक नियमप्रति जिम्मेवार बन्न आग्रह गरेको छ। यो सप्ताहले सडक सुरक्षाप्रति सचेतना बढाउने र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस