वीरगन्ज –
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ४ खेस्रहामा शुक्रबार बिहान भएको भीषण आगलागीले दुई परिवारको घर पूर्ण रूपमा जलेर नष्ट हुँदा १४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, बिहान पौने ५ बजे रामाशंकर गिरीको फुसको गोठमा विद्युत तार सर्ट भएर आगलागी सुरु भएको थियो। आगोले उनको फुसको गोठ र बस्ने घर पूर्ण रूपमा जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा, गरगहना र अन्य सामानसहित ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साथै, उनको एक भैंसी र एक पाडो आगलागीमा जलेर घाइते भएका छन्।

त्यस्तै, सोही स्थानका दरोगा गिरीको फुसको गोठ र बस्ने घर पनि आगलागीमा पूर्ण रूपमा नष्ट भएको छ। उनको घरमा रहेको धान, गहुँ, काठ, भाँडाकुँडा र गरगहनासहित ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीपछि दुवै परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन्। आगलागीलाई दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिहान साढे ७ बजे नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार यस घटनामा कुनै मानवीय क्षति भएको छैन।
जिल्ला प्रहरी कार्यालय पर्साले आगलागीको कारण र थप विवरणबारे अनुसन्धान गरिरहेको छ।