काठमाडौँ-
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो । राजश्व संकलन न्युन हुँदाहुँदै पनि सरकारले बजेटको आकार अत्यन्त ठूलो बनाएको उहाँको भनाइ छ । राजश्व संकलन न्यून र चुहावट धेरै भएको उल्लेख गर्दै उहाँले राजश्वले चालु खर्च धान्न समेत नसक्ने बताउनु भयो ।

महासचिव गुरुङले नेपालको सत्ता अझै पनि एकाधिकार दलाल पुँजीवादको नियन्त्रणमा रहेको आरोप लगाउनु भयो । राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवाद मुल प्रवृत्तिको रूपमा भित्रिएको उहाँको आरोप छ । उहाँले विश्व साम्राज्यवाद नेपालजस्ता देशहरूमा स्थायित्व नभई द्वन्द्व चाहने गरेको समेत बताउनु भयो ।उहाँले विश्व साम्राज्यवादलाई नेपाललाई युद्धको क्रिडास्थल बनाउने चाहना रहेको समेत दाबी गर्नुभयो ।
उहाँले लामो समयसम्म पनि संक्रमणकालीन न्याय (टिआरसी) टुंग्याउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले दलाल पुँजीवादीहरुको प्रभुत्वको कारण टिआरसीको समस्या अहिलेसम्म पनि हल हुन नसकेको जिकिर गर्नुभयो ।
उहाँले वर्तमान सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप समेत लगाउनु भयो ।